साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ४२ दशमलव ७८ अंकले घटेको छ । तर पनि खरिदबिक्री रकम भने उत्साहप्रद देखिएको छ ।
लक डाउनपछि खुलेको बजार ११५० अंक आसपाससम्म पुगेको थियो । यसबीचमा राम्रै फाइदा गर्नेहरुले सेयर बेच्दा बजारमा आपूर्ति बढेको अनुमान गरिएको छ । सेयर बजार सूचक तलमाथि गरिरहन्छ, यो सामान्य प्रक्रिया हो । विशेषगरी लगानीकर्ताले आफ्नो व्यक्तिगत रणनीति यस्तो अवास्थामा तय गर्न सक्नुपर्छ ।
अहिले बैंक ब्याजदर र तरलताले भने सेयर बजारलाई साथ दिएको छ । ब्याजदर पनि घट्दै गएको छ । सोही कारण दीर्घकालमा सेयर बजारले राम्रो गति लिने अपेक्षा गरिएको छ । घटेका बेला किन्ने अनि बढ्दा बेच्ने समूह सक्रिय हुँदा अहिले सूचक दबाबमा परेको हो । घटेर भाउ निकै सस्तो विन्दुमा आएपछि पछि किन्नेहरु सक्रिय हुने विगतको प्रवृत्ति रहने गरेको छ । नेप्से सूचक आइतबार ४२.७८ अंकले घटेर १३९६.२८ विन्दुमा आइपुगेको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २८३.८ अंकले तल झरेको छ । यसैगरी, वाणिज्य बैंक समूहको सूचक ४१.४८ अंकले तल आएको छ । आरम्भ चौतारी, नेपाल फाइनान्स लगायतका कम्पनीको भाउ भने १०% ले बढेको छ ।
आइतवारको कारोबारमा १६५ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य घटेको छ । उक्त कम्पनीको शेयरमूल्य ९ दशमलव ७२ प्रतिशत घटेर प्रतिकित्ता रू. ६५ कायम भएको हो । कारोबारमा आएका १२ ओटै समूहको परिसूचक घटेको छ ।
यो पनि, अमेरिकी बुहराष्ट्रिय कम्पनी एप्पल सार्वजनिक रुपमा शेयर कारोबार हुने विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोलाई उछिनेर एप्पल विश्वमै सबैभन्दा धेरै बजार पूँजीकरण हुने कम्पनी बनेको हो ।
शुक्रवार शेयर बजार बन्द हुँदा एप्पलको शेयर मूल्य प्रतिकित्ता १० दशमलव ४७ प्रतिशतले बढेर १८ खर्ब ४० करोड डलरमा पुगेको थियो । बजार बन्द हुँदा साउदी अराम्कोको शेयर मूल्य शून्य दशमलव १५ प्रतिशतले बढेको थियो भने बजार पूँजीकरण १७ खर्ब ६० अर्ब डलरमा भएको थियो ।
मार्चमा महामारीको प्रभावबीच मूल्य न्यून विन्दुमा झरेको एप्पलको शेयरमा अहिले भने सुधार आएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा एप्पलको शेयर मूल्य ४४ प्रतिशतले बढिसकेको छ । रासस
No comments:
Post a Comment